सनसनीपूर्ण जितका साथ ज्ञानेन्द्रको टिम ललितपुर इपिएलको फाइनलमा

(तस्विर : विकेटनेपाल)

काठमाडौं (खेलदैनिक) । अन्तिम ओभरको अन्तिम बलमा सनसनीपूर्ण जित हात पार्दै ललितपुर प्याट्रिअट्स जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार किर्तिपुर मैदानमा सम्पन्न पहिलो क्वालीफायरमा ललितपुरले काठमाडौं किंग्सलाई अन्तिम ओभरमा रोमाञ्चक १ विकेटले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो ।

खेलमा टस जित्दै पहिले फिल्डिङ रोजेको ललितपुरले काठमाडौंलाई १९.५ ओभरमा अलआउट गर्दै १०८ रन मात्र बनाउन दियो । काठमाडौंका लागि ओपनर तथा कप्तान रोहन मुस्तफाले ३२ रन बनाए भने सागर पुनले २९ रनको योगदान दिए ।

बलिङतर्फ ललितपुरका लागि म्यान अफ द म्याच समेत घोषित योगेन्द्र सिंह कार्कीले ३ विकेट लिए भने पवन सर्राफले पनि समान ३ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै सन्नी पटेलले २ विकेट लिंदा ललित राजवंशीले १ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको ललितपुरले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर १०९ रन बनाउँदै रोमाञ्चक जित हात पार्यो । ललितपुरका लागि अलराउण्ड प्रदर्शन गरेका योगेन्द्र सिंह कार्कीले नटआउट २८ रनको महत्वपूर्ण पारी खेले । त्यस्तै कुशल भुर्तेलले २९ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २१ रनको पारी खेले ।

अब इलिमिनेटर राउण्डमा बुधबार भैरहवा ग्ल्याडिएटर्स र चितवन टाइगर्स भिड्ने छन् । यो खेलको बिजेताले दोस्रो क्वालीफायरतर्फ बिहीबार काठमाडौं किंग्ससँग खेल्नेछ । त्यसपछि दोस्रो क्वालीफायरको विजेताले फाइनलमा ललितपुरसँग उपाधिका लागि भिड्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...