एभरेष्ट प्रिमियर लिग : सन्दिपको स्पीन चल्दा प्याट्रिअट्सको पहिलो जित

काठमाडौं (खेलदैनिक) । सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै महत्वपूर्ण तीन विकेट लिएपछि ललितपुर प्याट्रिअट्सले एभरेष्ट प्रिमियर लिगमा आइतबार पहिलो जित हात पारेको छ । आइतबार सन्दिपले चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर महत्वपूर्ण तीन विकेट लिएपछि ललितपुरले चितवन टाइगर्सलाई ११ रनले हरायो ।

किर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रनको योगफल तयार पारेको थियो । ललितपुरका लागि सोनु तामाङले सर्वाधिक ३५ रनको नटआउट पारी खेले । त्यस्तै गौरव तोमरले ३० रनको योगदान दि एभने सन्दिप झोरा २५ रनमा नाबाद रहे ।

उता बलिङतर्फ चितवनका लागि जर्ज स्कटले २ विकेट लिए भने ललित भण्डारी, कमल सिंह र पाउल स्टर्लिङले एक–एक विकेट हात पारे ।

त्यस्तै जवाफी लक्ष्य पछ्याएको चितवन भने २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । चितवनका लागि दिपेन्द्र सिंह ऐरनीले सर्वाधिक ४१ रनको योगदान दिए तापनि त्यो प्रर्याप्त बनेन । त्यस्तै कप्तान पृथु बास्कोटाले पनि २६ रनको योगदान दिए ।

बलिङतर्फ ललितपुरका लागि सन्दिप बाहेक सन्नी पटेलले २ विकेट लिए भने गौरव तोमर र ललित राजवंशीले समान १–१ विकेट लिए । खेलमा ललितपुरको जितमा अहम भूमिका खेलेको सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...