सन्दिपले अष्ट्रेलियामा विश्वचर्चित बिग ब्यास लिग खेल्ने

काठमाडौं (खेलदैनिक) । चर्चित नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको विश्व चर्चित बिग ब्यास लिग र बंगलादेश प्रिमियर लिग खेल्ने भएका छन् । यहि आउँदो १९ डिसेम्बरदेखि शुरु हुन गईरहेको बिग ब्यासमा सन्दिपले मेलबर्न स्टार्सका लागि खेल्नेछन् ।

बिग ब्यास खेल्ने सन्दिप पहिलो नेपाली र एसोसिएट खेलाडी समेत हुन् । चर्चित क्रिकेट साईट क्रिकइन्फोका अनुसार १८ बर्षिय सन्दिप १० डिसेम्बरका दिन मेलबर्न स्टार्सको स्क्वाडमा सामेल हुनेछन् । यद्यपि उनले बंगलादेश प्रिमियर लिगको पुरा सिजन खेल्न जनवरी ५ भन्दा अगाडी नै बंगलादेश पुग्नेछन् ।


आगामी बर्षको ५ जनवरीदेखि शुरु हुन गईरहेको बंगलादेश प्रिमियर लिगमा सन्दिपले सिल्हेट सिक्सर्सको प्रतिनिधित्व गर्नेछन् । सिल्हेटको प्रशिक्षकमा पाकिस्तानका लिजेण्डरी बलर वकार युनिस छन् । बंगलादेश प्रिमियर लिगको पुरा सिजन खेलेपछि सन्दिप फेरि अष्ट्रेलिया फर्किने क्रिकइन्फोले जनाएको छ ।

यी दुई फ्रेन्चाईजले सन्दिपलाई कति रकममा किनेको हो त्यो भने खुलाइएको छैन । सन्दिपले गत बर्ष सम्पन्न विश्व चर्चित इण्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेविल्सबाट खेल्दै ३ खेलमा ५ विकेट समेत लिएका थिए । त्यसपछि उनले ग्लोबल टि–२० क्यानडा, क्यारिबियन प्रिमियर लिग र भर्खरै सम्पन्न अफगानिस्तान प्रिमियर लिग समेत खेलिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...