च्याम्पियन नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं (खेलदैनिक) । मलेसियामा सम्पन्न आइसीसी टि–२० विश्वकप छनौटको पूर्वी उप–क्षेत्रीय छनौटतर्फ बिजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ ।

मलेसियामा ३ देखि १२ अक्टुबरसम्म भएको सात देश सम्मिलित पूर्वी उपक्षेत्रीय छनौटतर्फ नेपालले एउटै खेल नहारी शतप्रतिशत जितका साथ टि–२० विश्वकप एसियाली क्षेत्रीय छनौटमा स्थान बनाउन सफल भएको थियो ।

नेपालले आफ्नो अन्तिम खेलमा सिंगापुरसँग नतिजाविहीन रुपमा अंक बाँड्दै ११ अ)कका साथ शिर्ष स्थानमा रहेको थियो । समान ११ अंक भए तापनि सिंगापुर नेट रनरेटका आधारमा उपविजेता बन्यो । पूर्वी उपक्षेत्रीय छनौटबाट उपविजेता बनेको सिंगापुर र तेस्रो स्थान हासिल गरेको आयोजक मलेसियाले पनि एसियाली क्षेत्रीय छनौटमा स्थान बनाउन सफल भए ।

एसियाली छनौटका लागि पश्चिम उपक्षेत्रीय छनौटबाट युएई, ओमान र कतार यसअघि नै स्थान बनाईसकेका छन् । एसियाको क्षेत्रीय छनौटतर्फ नेपाल, सिंगापुर, मलेसिया, युएई, ओमान र कतारले खेल्ने छन् । एसियाको क्षेत्रीय छनौट प्रतियोगिताको मिति भने अझै तोकिएको छैन ।

क्षेत्रीय छनौटमा पर्ने शिर्ष दुई टोलीले ग्लोबल छनौट खेल्नेछन् । ग्लोबल छनौटबाट शिर्ष ६ स्थानमा रहने टोलीले सन् २०२० मा १८ अक्टुबरदेखि १५ नोभेम्बरसम्म अष्ट्रेलियामा हुने १६ राष्ट्र सम्मिलित आइसीसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...