आइसीसी टि–२० विश्वकप छनौट : नेपालसँग चीन दश विकेटले पराजित

(तस्विर : रमन शिवाकोटी)

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी आइसीसी टि–२० विश्वकप छनौटको पूर्व उपक्षेत्रीय छनौटतर्फ अपराजित रहेको नेपालले लगातार पाँचौ जित हात पारेको छ ।

बायुमास ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीनलाई १० विकेटको फराकिलो अन्तरले हरायो । टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले चीनलाई १३ ओभर बलिङ गर्दै २६ रनमा अलआउट गरेको थियो ।

ब्याटिङतर्फ चीनका लागि ओपनर होङ यानले मात्र ११ रनको योगदान भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशीले ३–३ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले भने केवल १.५ ओभर (११ बलमा) बिना कुनै विकेटको क्षतिमा २९ रन बनाएर सहज जित हात पारेको थियो । नेपालका लागि ओपनर बिनोद भण्डारीले आक्रमक पारी खेल्दै ८ बलमा २४ रन बनाए । त्यस्तै अर्का ओपनर प्रदिप ऐरीले ४ रनको योगदान दिए ।

खेलमा ४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चिएर तीन विकेट लिएका नेपालका सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित भए । नेपालले आफ्नो छैठौं तथा अन्तिम खेल सिंगापुरसँग शुक्रबार खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...