नेपाल दोस्रो खेलमा पनि भारतसँग फराकिलो अन्तरले पराजित

काठमाडौं । भारतमा जारी चार टोली सम्मिलित क्वाडेङ्गुलर सिरिज अन्तरगत नेपालले आफ्नो दोस्रो खेलमा पनि आयोजक भारत यु–१९ को ए टोलीसँग फराकिलो अन्तरले पराजित भएको छ ।

यसअघि पहिलो खेलमा भारतको यु–१९ टोली बी सँग ४० रनले पराजित भएको नेपालले शुक्रबार दोस्रो खेलमा भारतको यु–१९ ए टोलीसँग ८ विकेटको पराजय बेहोरेको हो ।

लखनउस्थित एकना इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले ४५.५ ओभर खेल्दै १५६ रनमा अलआउट हुन पुगेको थियो । नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाएका थिए भने ओपनर तृत दासले ४८ रनको योगदान दिएका थिए ।

बलिङतर्फ भारतका लागि यतिन मंगवानी र अजय गौडले ४–४ विकेट लिए भने राजेश मोहन्टी र यशेश्वी जैसवालले १–१ विकेट हात पारे ।

उता जवाफी लक्ष्य पछ्याएको भारत यु–१९ ए ले मात्र २४.१ ओभर खेल्दै २ विकेटको क्षतिमा १५७ रन बनाएर सहज जित हासिल गर्न सफल भयो । भारतका लागि यश विजय राठोडले सर्वाधिक ५९ रनको नटआउट पारी खेले भने ओपनर तथा कप्तान अनुज रावतले ४७ रनको योगदान दिए । त्यसैगरी अर्का ब्याट्सम्यान प्रभिस्मरण सिंह ४६ रनमा नाबाद रहे ।

बलिङतर्फ नेपालका लागि कमल ऐरी र पवन शर्राफले १–१ विकेट हात पारे । यो हारसँग सिरिजमा नेपालको सम्भावना लगभग समाप्त भएको छ । सिरिज अन्तरगत नेपालले आफ्नो अन्तिम खेल आइतबार अफगानिस्तान यु–१९ क्रिकेट टोलीसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...