राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं (खेलदैनिक) । एसिया कप क्रिकेट छनौट प्रतियोगिता खेल्न मलेसिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । एसिया कपमा छनौट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल अंकतालिकाको चौथो स्थानमा रहँदै प्रतियोगिताको समापन गर्न बाध्य भयो ।

आफ्नो शुरुवाती दुई खेलमा ओमान र युएईसँग पराजित भएपछि नेपालको एसिया कप यात्रा शुरुवात मै कठिन बन्न पुगेको थियो । त्यसपछिको दुई खेलमा आयोजक मलेसिया र सिंगापुरलाई पराजित गरे तापनि महत्वपूर्ण मानिएको अन्तिम खेलमा हङकङसँग नेपाली टोली पराजित हुन पुगेको थियो ।

छनौट प्रतियोगितामा कुल ५ खेल खेल्दै ४ अंक बटुलेको नेपाल अंकतालिकाको चौथो स्थानमा रह्यो । एसिया कप छनौटको उपाधि भने बिहीबार हङकङले फाइनलमा युएईलाई हराउँदै जितेको थियो । त्यो जितसँगै हङकङ अर्को सातादेखि युएईमा शुरु हुन गईरहेको एसिया कपका लागि समेत छनौट भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...