एसिया कप खेल्ने नेपालको सम्भावना समाप्त

काठमाडौं (खेलदैनक) । आफ्नो अन्तिम खेलमा खराब प्रदर्शन गर्दै पराजय बेहोर्न पुगेपछि यसै बर्ष युएईमा हुने प्रतिष्ठित एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको सपना समाप्त भएको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार हङकङसँग ३ विकेटको हार बेहोर्न पुग्यो । बाँगीस्थित युकेएम क्रिकेट ओभलमा टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले खराब ब्याटिङ गर्दै ३७.५ ओभर खेलेर ९५ रनमा अलआउट हुन पुगेको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रन बनाए भने ओपनर अनिल साह र बसन्त रेग्मीले १५–१५ रनको योगदान दिए ।

बलिङतर्फ हङकङका लागि एहसान खानले सर्वाधिक ४ विकेट लिए भने तनवीर अफजल र एजाज खानले २–२ विकेट लिए । त्यसैगरी नदिम अहमद र एहसान नवाजले १–१ विकेट आफ्नो नाममालेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको हङकङले भने ३२.३ ओभर खेल्दै ७ विकेटको क्षतिमा ९६ रन बनाउँदै जित हासिल गर्यो । हङकङका लागि ओपनर तथा कप्तान अंशुमान रथले सर्वाधिक ५२ रनको महत्वपूर्ण पारी खेले । रथ खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले १–१ विकेट हात पारे । यो जितसँगै ५ खेलबाट ७ अंक जोडेको हङकङ शिर्ष स्थानमा उक्लिनुका साथै फाइनलमा समेत प्रवेश गरेको छ । नेपाल भने ४ अंकका साथ चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...