एसिया कप छनौटको नेपालको दोस्रो जित

(तस्विर : रमन शिवाकोटी)

काठमाडौं (खेलदैनिक) । एसिया कप क्रिकेट छनौट प्रतियोगितातर्फ नेपालले आफ्नो चौथो खेलमा आइतबार लगातार दोस्रो जित हात पारेको छ । युकेएम क्रिकेट ओभलमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हरायो ।

टस हार्दै पहिले फिल्डिङ गरेको नेपालले सिंगापुरलाई ४२ ओभरमा १५१ रनमै अलआउट गरेको थियो । सिंगापुरका लागि कप्तान चेतन सुर्यवंशीले सर्वाधिक ६० रन बनाए भने अनिश परामले ३१ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने एक्लैले ३ विकेट लिए भने सोमपाल कामीले २ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै बसन्त रेग्मीले पनि १ विकेट हात पारे ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले २८.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा १५२ रन बनाउँदै जित हासिल गर्यो । नेपालका लागि ओपनर अनिल साहले सर्वाधिक ४३ रन बनाए । आक्रमक पारी खेलेका साहले ३२ बलको सामना गर्दै २ छक्का र पाँच चौकाको सहयोगमा सो रन बटुलेका थिए ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए भने ज्ञानेन्द्र मल्लले २९ रनको योगदान दिए । यो जितपछि चार खेलबाट ४ अंक जोडेको नेपाल चौथो स्थानमा छ । आइतबार नै मलेसियालाई ८ विकेटले हराएको युएई ६ अंकका साथ शिर्ष स्थानमा छ र फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालले लिग चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...