एसिया कप छनौटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ । बिहीबार सम्पन्न आफ्नो दोस्रो खेलमा नेपालले युएईसँग ७८ रनको हार बेहोरेको हो ।

किनारा एकेडेमी ओभलमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले युएईलाई निर्धारित ५० ओभरमा २५४ रन बनाउन दिएको थियो । युएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ६५ रन बनाएका थिए भने मध्यक्रमका ब्याट्सम्यान अदनान मुफ्तीले नटआउट ५७ रनको पारी खेलेका थिए ।

त्यस्तै युएईका अर्का ओपनर अश्फाक अहमदले पनि ४५ रन बनाए भने रमिज शहजादले ३५ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट लिए ।

उता जवाफी ब्याटिङका लागि उत्रिएको नेपाल भने ४८.५ ओभर खेल्दै १७६ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि ओपनर सुवास खकुरेलले सर्वाधिक ५० रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले पनि ४० रनको योगदान दिए भने सामपाल कामीले २७ रन नटआउट पारी खेले । आशा गरिएका ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का र सागर पुन खासै चल्न नसक्दा नेपालले प्रर्याप्त रन बटुल्न सकेन ।

बलिङतर्फ युएईका लागि अहमद राजाले सर्वाधिक ४ विकेट लिए । त्यस्तै मोहमद नाविदले ३ विकेट लिए भने आमिर हयातले २ विकेट हात पारे । त्यसैगरी अश्फाक अहमदले पनि एक विकेट आफ्नो नाममा लेखाए ।

बिहीबारको नतिजा पश्चात् लगातार दुई खेल हारेको नेपालको फाइनल पुग्ने सम्भावना कठिन भईदिएको छ । नेपालले आफ्नो पहिलो खेलमा बुधबार ओमानसँग ७ विकेटको हार बेहोरेको थियो । छनौट प्रतियोगिता अन्तरगत नेपालले आफ्नो तेस्रो खेल शनिबार आयोजक मलेसियासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...