एसिया कप छनौटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं (खेलदैनिक) । मलेसियामा बुधबारदेखि शुरु एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तरगत नेपालले आफ्नो पहिलो खेल मै ओमानसँग सात विकेटको पराजय बेहोरेको छ ।

बायुमास ओभलमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिए ।

त्यस्तै ओपनर ज्ञानेन्द्र मल्लले पनि ४५ रन बनाए भने आरिफ शेखले ३६ रनको योगदान दिए । नेपालको पारीमा तल्लो क्रमका ब्याट्सम्यान करन केसीले पनि २६ रनको नटआउट पारी खेले ।

बलिङतर्फ ओमानका लागि बिलाल खान, मोहम्मद नदिम र अजय लालचेताले समान २–२ विकेट लिए । त्यस्तै जवाफी लक्ष्य पछ्याएको ओमानले भने ४८ ओभर खेल्दै ३ विकेटको क्षतिमा २२४ रन बनाएर जित हात पारेको थियो ।

ओमानका लागि खवर अलीले नटआउट ८४ रनको योगदान दिए भने कप्तान जिशन मकसुद ४५ रनमा नाबाद रहे । त्यस्तै वैभव वाटेगाओंकरले ४१ रन बनाए भने ओपनर जतिन्दर सिंहले ३० रनको पारी खेले ।

बुधबार नै सम्पन्न अन्य खेलहरुमा आयोजक मलेसियाले हङकङमाथि ३ विकेटको जित हात पार्यो भने युएईले सिंगापुरमाथि २१५ रनको फराकिलो जित दर्ता गर्यो । बुधबारको नतिजा पश्चात् समान २–२ अंक जोडे तापनि नेट रनरेटका आधारमा युएई, मलेसिया र ओमान क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

राउण्ड रोबिन लिगका आधारमा हुने समूह चरणको खेलहरुपश्चात शिर्ष दुई स्थानमा रहने टोली फाइनलमा भिड्ने छन् । फाइनल जित्ने टोली यसै बर्ष युएईमा हुने एसिया कप क्रिकेटका लागि छनौट हुनेछ । प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल बिहीबार युएईसँग खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...