ऐतिहासिक पहिलो एकदिवसीयमा नेपाल पराजित

नेपालविरुद्ध विकेट लिएपछि नेदरल्याण्डस्का खेलाडीहरु ।

काठमाडौं (खेलदैनिक) । नेदरल्याण्डस् भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार सम्पन्न पहिलो ऐतिहासिक एकदिवसीयमा घरेलु टोली नेदरल्याण्डस्सँग ५५ रनको पराजय बेहोरेको छ ।

टस जित्दै पहिले ब्याटिङ रोजेको नेदरल्याण्डस्ले ४७.४ ओभर खेल्दै सबै विकेट गुमाएर १८९ रनको् सामान्य योगफल तयार पारेको थियो । नेदरल्याण्डस्का लागि म्यान अफ द म्याच समेत घोषित माइकल रिप्पोनले ५१ रनको योगदान दिए । त्यस्तै बस डि लिडेले ३० रन बनाए भने ओपनर स्टिफन माइबर्गले २९ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि कप्तान पारस खड्काले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट हात पारे । त्यस्तै करन केसी, बसन्त रेग्मी र सन्दिप लामिछानेले एक–एक विकेट लिए ।

डेब्यु एकदिवसीय मै मेडन अर्धशतक बनाएपछि नेपालका ज्ञानेन्द्र मल्ल ।

उता जवाफी लक्ष्य पछ्याएको नेपाल भने ४१.५ ओभर खेल्दै १३४ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले मात्र सर्वाधिक ५१ रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा मल्लको यो डेब्यु अर्धशतक समेत थियो । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए भने अर्का ओपनर अनिल साहले २१ रनको योगदान दिए ।

बलिङतर्फ नेदरल्याण्डस्का लागि अलराउण्ड प्रदर्शन गरेका माइकल रिप्पोन, फ्रेड क्लासेन र पिटर सिलारले ३–३ विकेट लिए । सिरिजअन्तरगत दोस्रो एकदिवसीय म्याच शुक्रबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...