पारस र प्रतिभा, सेन्चुरीको सद्भावना दूत

काठमाडौं (खेलदैनिक) । सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ ।

बुधबार राजधानीमा एक कार्यक्रमकाबीच दुई खेलाडीलाई सद्भावना दूत बनाइएको हो । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सहायक कार्यकारी अधिकृत जिवन भट्टराई, मार्केटिङ प्रमुख रञ्जन खड्का लगायतको उपस्थिती रहेको कार्यक्रममा पारस खड्कालाई ब्याट र प्रतिभा मालीलाई बल हस्तान्तरण गरेर औपचारिक घोषणा गरियो ।

नेपालकै कान्छो बैंक सेन्चुरीले नेपालका दुई सुपरस्टारहरुलाई आबद्ध गराउन पाउँदा लोकप्रियता तथा व्यावसायिक बृद्धिमा सहयोग पुग्ने जनाएको छ ।

एक दिवशीय मान्यता पाएपछि पहिलो खेल खेल्न इंग्ल्याण्डतर्फ प्रस्थान गर्न लागेका पारस खड्काले सेन्चुरी बैंकले खेलक्षेत्र रोजेकोमा धन्यवाद दिए । पारसले भने ‘खेलकुद विकासमा ब्यावसयिक प्रतिष्ठानको ठूलो महत्व हुन्छ । सेन्चुरी बैंकको साथ पाएको छु, अब हुने खेलमा सेन्चुरी हान्न सकुँ ।’

नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभा मालीले बैंकको प्रमोसनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिइन् । मालीले भनिन् ‘सेन्चुरी बैंकको यो कार्यले आउँदो पुस्तालाई समेत प्रेरित गर्छ ।’ सेन्चुरी बैंकले दुबै खेलाडीलाई एक वर्षको सम्झौता गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...