ग्रेट हिमालय तीन विकेटले विजयी

म्यान अफ दि म्याच नेक्ससका सुवाष बि.कलाई नेपाल कुस्ती संघका अध्यक्ष एवं राखेप कर्मचारी संघका पूर्व अध्यक्ष नारायणदेव राणाले ट्रफी प्रदान गर्दै ।

काठमाडौं (खेलदैनिक) । ग्रेट हिमालय क्रिकेट एकेडेमी केसिटिसी बीलाई तीन विकेटले पराजित गर्दै कागेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपमा दुई अंक जोड्न सफल भएको छ ।

टस जितेर पहिलो ब्याटिङ्ग गरेको केसिटिसीले ८ विकेटको क्षतीमा ७६ रनमा सिमिति हुन पुग्यो । केसिटिसीका लागि गौरव कटुवालले १६ बलमा १९ रन जोडे । यस्तै अभियान बस्नेतले २४ बलमा १३ रन र अभिषेक उपाध्यायले १९ बलमा १२ रन जोडे अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बलिङ्गतर्फ ग्रेट हिमायलका बिज्ञान गौतमले ४ ओभरमा १४ रन दिंदै ३ विकेट लिए । यस्तै अभिषेक थापाले २ विकेट, राम सुरतले २ विकेट, पियुष केसीले एक विकेट हात पारे । यसैगरि विवेक यादव ४ ओभर १७ रन र विनित कार्कीले २ ओभरमा १५ रन दिए ।

उता ७७ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको ग्रेट हिमालयले १९.३ ओभर खेल्दै ७ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । ग्रेट हिमालयका लागि म्यान अफ दि म्याच अभिषेक थापाले अविजित ४५ बल खेल्दै १७ रन जोडे । यस्तै विवेक यादवले १८ बलमा २१ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङ्गतर्फ केसिटिसी बीका गौरव कटुवालले २ विकेट लिए । यस्तै कुशल रुपाखेती, सुभाष खत्री, दीपक बोहराले समान एक–एक विकेट हात पारे ।

बुधबार नै भएको दोश्रो खेलमा सान रातो नेक्सस एकेडेमी संग ७ विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको सान रातोले १६.५ ओभर खेल्दै १० विकेटको क्षतिमा ७२ रन मात्र बनायो । उसको लागि निश्चल अमात्यले २३ रन र सक्रृय प्रताप कार्कीले १२ रन जोडे । अन्य खेलाडीले दोहोर अंक जोडन सकेनन् ।

बलिङ्गतर्फ नेक्ससका म्यान अफ दि म्याच सुभाष बि.क.ले ४ विकेट लिए । यस्तै सुमन सुन्दासले ३ विकेट हात पारे भने आविष्कार जोशी, प्रतिश जिसीले एक–एक विकेट हात पारे ।

उता जवाफी ब्याटिङमा उत्रिएको नेक्ससले ११ ओभरमा तीन विकेट गुमाउंदै ७४ रन बनाएर जित हात पारेको थियो । नेक्ससका लागि चिराग शाहले २१ रन, बिपिन शाहले १९ रन र प्रतिश जिसीले १८ रन जोडे । म्यान अफ दि म्याच नेक्ससका सुवाष बि.कलाई नेपाल कुस्ती संघका अध्यक्ष एवं राखेप कर्मचारी संघका पूर्व अध्यक्ष नारायणदेव राणाले ट्रफी प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...