राइजिङ झापालाई प्रथम झापा टि–२० राइजिङ कप क्रिकेटको उपाधि

झापा (खेलदैनिक) । फाइनल भिडन्तमा खनार क्रिकेट क्लबलाई हराउँदै राइजिङ झापा क्रिकेट क्लबले प्रथम झापा टि–२० राइजिङ कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुटबारी झापाको प्रगति खेल मैदानमा भएको फाइनल खेलमा राइजिङ झापा क्रिकेट क्लबले खनार क्रिकेट क्लबलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको खनार क्रिकेट क्लबले २० ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो । खनारका लागि तुल्सी चौधरीले सर्वाधिक ३५ रन बनाए भने रुपेश रोहेले २२ रनको योगदान दिए । बलिङतर्फ राइजिङका लागि मिलन कार्कीले ३ विकेट लिए भने सेजात आलम र दिपक महतोले २–२ तथा समीर कार्की र राजु ले १–१ विकेट हात पारे ।

उता खनार क्रिकेट क्लबले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा राईजिङले १७ ओभर खेल्दै आफ्नो ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भएको थियो । राइजिङका लागि समीर कार्कीले सर्वाधिक २९ रनको योगदान दिए भने सेजात आलमले नटआउट १७ रन बनाए । त्यस्तै राजेश साहाले पनि १६ रनको योगदान दिए भने सुवास चौधरीले १७ रन बनाए ।

प्रतियोगिताको बिजेता बनेको राइजिङ झापा क्रिकेट क्लबले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपबिजेता खनार क्रिकेट क्लबले २५ हजारमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच राइजिङ झापा क्रिकेट क्लबका समीर कार्की भए भने प्रतियोगिताको बेस्ट बलर चारली थुन्दरका सुबास खड्का घोषित भए । त्यसैगरि बेस्ट ब्याटसम्यान राइजिङ झापा कै बिजय महतो घोषित भए भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राइजिङ झापा कै समीर कार्की घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...