एपीएफलाई प्रधानमन्त्री कप क्रिकेट उपाधि

काठमाडौं (खेलदैनिक) । फाइनलमा त्रिभूवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी आर्मीलाई ६ विकेटले हरायो । आर्मीले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा अनिल शाह र प्रदिप ऐरीले समान ६३–६३ रनको योगदान दिए । ब्यक्तिगत १२ रन बनाउँदा सुवास खकुरेलले चोटका कारण मैदान छाड्दै रिटायर्ड भएपछि क्रिजमा आएका प्रदिप ऐरीसँग मिलेर अनिल शाहले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए ।

३०.१ ओभरमा सोमपाल कामीको बलमा आउट हुनुअघि ऐरीले ९९ बलमा २ चौका र २ छक्का प्रहार गरे । त्यसको १ ओभरपछि बिक्रम सोवको बलमा आउट भएका अनिल साहले ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । अनिल साह फाइनलका ‘म्यान अफ द म्याच’समेत बने ।

त्यसपछि क्रिजमा आएका पृथु बाँस्कोटाले २४ बलमा ३२ रनको आक्रामक पारी खेले । एपीएफका लागि रोहितकुमार पौडेलले पनि १५ रनको योगदान दिए । खेलको अन्तिम समयमा सुवासले क्रिजमा फर्किएर २ रन थपे । करण केसीले अन्तिममा १५ रनको योगदान दिएपछि एपीएफले ४१.२ ओभरमा लक्ष्य भेट्टायो ।

बलिङतर्फ आर्मीका लागि सोमपाल कामीले तीन विकेट लिँदा विक्रम सोवले १ विकेट हात पारे । एपीएफका चारैजना खेलाडी क्याचआउट भएका थिए र चारवटै क्याच विनोद भण्डारीले लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले इनिङको अन्तिम बलमा सबै विकेट गुमाउँदै २०९ रनको मध्यम योगफल बनाएको थियो । आर्मीले ५६ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । यस क्रममा सागर पुन ५ रन, अनिल मण्डल १९, नरेश बुढाऐर २० रन र राजु रिजाल ६ रनमा पवेलियन फर्किए ।

भीम शार्कीले आर्मीका लागि सर्वाधिक ४५ रनको योगदान दिएर पारी उकास्ने प्रयास गरे पनि उनी बसन्त रेग्मीको बलमा बोल्ड भए । सोमपाल कामीले ३६ र कप्तान विनोद भण्डारीले ३५ रन बनाए । बलिङतर्फ एपीएफका करण केसीले ३ विकेट लिए भने भुवन कार्की र बसन्त रेग्मीले २–२ विकेट हात पारे ।

विजेत ाबनेको एपीएफले उपाधिसँगै २० लाख रुपैयाँ पुरस्कार हात पारेको छ भने उपविजेता बनेको आर्मीले १० लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताभर अलराउण्ड प्रदर्शन गरेका आर्मीका सागर पुन म्यान अफ द सिरिज चुनिए । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । उनले ब्याटिङमा २११ र बलिङमा ११ विकेट लिएका थिए ।

त्यस्तै उत्कृष्ट बलर पनि आर्मीकै शुसान भारी बने । प्रतियोगिताको ६ इनिङमा सर्बाधिक १२ विकेट लिएका भारीले ३० हजार रुपैयाँ पुरस्कार पाए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपालयको व्यवस्थापनमा भएको प्रतियोगितामा एपीएफका प्रदीप ऐरी उत्कृष्ट ब्याट्सम्यान चुनिए । समूहचरणमा प्रदेश २ विरुद्ध प्रतियोगिताकै सर्वाधिक १५८ रनको शतकीय पारी खेलेका उनले फाइनलमा पनि ६३ रन बनाएका थिए । ६ इनिङमा कुल ३१५ रन बनाएका ऐरीले पनि ३० हजार रुपैयाँ पुरस्कार पाए । प्रदेश ४ का हरि चौहान उदीयमान खेलाडी चुनिदै ५० हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्यत्रय गंगाबहादुर थापा, शकुन्तला नगरकोटी, उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...