विभागीय टोली आर्मी सेमिफाइनलमा

प्रधानमन्त्री कप क्रिकेटमा ‘म्यान अफ द म्याच’ शक्ति गौचनलाई पुरस्कृत गरिदै ।

काठमाडौं (खेलदैनिक) । त्रिभुवन आर्मी क्लव एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै समूह बी अन्तर्गत प्रदेश ६ प्रतियोगिताबाट बाहिरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलहरुमा आर्मीले प्रदेश नम्बर ४ लाई र प्रदेश नम्बर ५ ले कर्णाली प्रदेशलाई समान ९ विकेटले हरायो ।

समुह ए अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चार नम्बर प्रदेश २९ ओभरमा मात्र ७६ रन बनाएर अलआउट भयो । उसका लागि अनिल गुरुङले ४२ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए । प्रदेश ४ का ६ खेलाडीले खाता खोल्नै सकेन । प्रदेश ४ को इनिङ ध्वस्त पार्न आर्मीका विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए ।

उता जवाफी ब्याटिङका लागि उत्रिएको आर्मीले १६.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । आर्मीको जितमा सागर पुनले २६ तथा अनिल मण्डलले २८ रन बनाए । त्यस्तै नरेश बुढाएरले १० रनको योगदान दिए । अलराउण्ड प्रदर्शन गरेका सागर पुन खेलको म्याच अफ द म्याच चुनिए ।

त्यसैगरी टियू मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश ५ ले पनि प्रदेश ६ बिरूद्द ९ विकेटको सहज जित हासिल गर्यो । जितसँगै प्रदेश ५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राखेको छ भने पराजित प्रदेश ६ प्रतियोगिताबाट बाहिरिएको छ । समूह बीको चार खेलबाट उसले १ अंकमात्र जोड्न सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश २२.५ ओभरमा ५५ रनमै अलआउट भयो । उसका लागि विजय विष्टले १७ रन बनाउदा बाँकी कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् ।

प्रदेश ६ को इनिङ धराशायी बनाउने क्रममा प्रदेश ५ का कप्तान कप्तान शक्ति गौचनले शानदार बलिङ गरे । ६ ओभर बलिङ गरेका शक्तिले ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ म्याच चुनिए । त्यस्तै विक्रम भुसालले पनि ३ विकेट नै झारे ।

जवाफमा प्रदेश ५ ले १० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा शंकर रानाले २९ तथा सन्दिप सुनारले २७ रन बनाए ।


प्रतिक्रिया दिनुहोस

Loading...