चौहानको अलराउण्ड प्रदर्शनमा प्रदेश ४ विजयी

काठमाडौं (खेलदैनिक) । हरिबहादुर चौहानले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेट लिएपछि प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह एबाट प्रदेश नम्बर ४ ले आफ्नो तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा प्रदेश ४ ले प्रदेश १ लाई १२९ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसअघि पहिलो खेलमा एपीएफसँग ५ विकेट र प्रदेश २ सँग ६७ रनले पराजित भएको प्रदेश ४ ले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

टियू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले मध्यक्रमका ब्याट्सम्यान हरिबहादुर चौहानको शतकीय शतकीय पारीको सहयोगमा ७ विकेट गुमाएर ३१० रनको बिशाल योगफल तयार पारेको थियो ।

शतक बनाउने क्रममा चौहानले ११५ बलमा १०० रन बनाए । जारी प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् । यसअघि एपीएफबिरुद्धको खेलमा पनि चौहानले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए ।

चौहानले छैटौं विकेटका लागि सुमन घिमिरेसँग मिलेर १३६ रनको शतकीय साझेदारी गरेपछि प्रदेश ४ ले बिशाल योगफल बनाउन सफल भयो । घिमिरेले विष्फोटक पारी खेल्दै ५३ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा ८३ रनको योगदान दिए ।

यसअघि सुरआती पाँच विकेट उसले सस्तैमा गुमाएको थियो । ओपनरहरु अनिल गुरुङ १३ र सन्तोष न्यौपाने ७ रनमा आउट हुँदा आकाश थापाले १९ तथा मञ्जिल न्यौपानेले २८ रन बनाएर आउट भएका थिए । प्रदेश ४ का लागि विपिन खत्रीले ९ बलमा २३ रन जोडे । उसले अतिरिक्त २८ रन पाएको थियो । बलिङतर्फ प्रदेश १ का पुष्प थापा र सन्दिप ढुंगानाले २–२ विकेट लिए ।

उता ३११ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ३५ ओभर खेल्दै १८१ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर सन्दिप ढुंगानाले ७१ रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिएनन् । प्रदेश १ का लागि मिनास थापाले १९, राजन मगरले १०, फिर्दोस अन्सारीले १३ तथा श्रवण यादवले अविजित १९ रन बनाए ।

बलिङतर्फ प्रदेश ४ का हरिबहादुर चौहानले ४ तथा विपिन खत्री र राजु गुरुङले २–२ विकेट लिए । हरिले प्रदेश १ का अन्तिम तीन ब्याट्सम्यानलाई पेविलियनको बाटो देखाएका थिए । ३४.४ ओभरमा फिर्दोस अन्सारीलाई क्याचआउट गराएका उनले ३४.५ ओभरमा मनोज तामाङलाई एलबीडब्ल्यू धरापमा पारे ।

ओभरको अन्तिम बलमा उनले प्रदेश १ का अन्तिम ब्याट्सम्यान अभ्यास तिमल्सिनालाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरे । अलराउण्ड प्रदर्शन गरेका चौहान खेलको म्यान अफ द म्याच चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...