प्रधानमन्त्री कपमा पुलिस र प्रदेश १ लाई सफलता

काठमाडौं (खेलदैनिक) । जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तरगत सोमबारको वर्षाले प्रभावित खेलहरुमा बिभागीय टोली नेपाल पुलिस र प्रदेश नम्बर १ विजयी भएका छन् । पुलिसले प्रदेश ७ लाई १७४ रनले हरायो भने प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले निराश तुल्यायो ।

टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३२४ रनको विशाल योगफल बनाएको थियो । पुलिसका लागि ओपनर सुनील धमलाले सर्बाधिक ८३ बनाए । उनी खेलको म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै आरिफ शेखले ५७ रनको योगदान दिए । त्यस्तै कप्तान मञ्जित श्रेष्ठले पनि ३३ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा ४९ रन बनाए । पुलिसका लागि दिलिप नाथले २७, दिपेन्द्र सिंह ऐरीले २५, कुशल भुर्तेलले २२ र सिद्धान्त लोहनीले २६ रन बनाए । बलिङतर्फ प्रदेश ७ का शेर मल्लले २ विकेट लिए ।

३२५ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ७ ले ब्याटिङ गर्दैगर्दा खेल वर्षाले प्रभावित भयो । वर्षा रोकिएपछि सुरु भएको खेल ३७ ओभरमा छोट्याइयो भने प्रदेश ७ ले ३०५ रनको नयाँ लक्ष्य पायो । तर, कमजोर सुरुआत गरेको प्रदेश सातका अरुण ऐरीबाहेक अन्य ब्याट्सम्यान धेरै समय क्रिजमा टिक्न सकेनन् । ऐरीले ७० रनको पारी खेले पनि अन्यले गतिलो रन बटुल्न सकेनन् ।

बलिङतर्फ पुलिसका दिपेन्द्रसिंह ऐरीले ४ तथा ललित भण्डारीले २ विकेट लिए । प्रतियोगितामा पुलिसको यो पहिलो जित हो भने प्रदेश ७ ले पहिलो पराजय ब्यहोरेको हो । यसअघि आइतबार भएको खेलमा प्रदेश ७ ले कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।

त्यस्तै सोमबार नै मूलपानीमा भएको अर्को खेलमा प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले हरायो । प्रदेश नम्बर १ ले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२३ रन बनाएको थियो ।

प्रदेश १ का लागि सन्दीप ढुंगानाले ५१ रन बनाए । यसैगरी फिर्दोश अन्सारी र श्रवन यादबले आउट नभई ३७ र ३४ रन जोडे । बलिङतर्फ प्रदेश २ का संंसेद शेखले ४ तथा मेहबुब आलमले २ तथा हरिनारायण साहले १ विकेट लिए ।

उता २२४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १७ ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । त्यसपछि खेल ३४ ओभरमा झारियो र प्रदेश २ ले २१४ रनको नयाँ लक्ष्य पायो ।

तर, प्रदेश २ ३० ओभरमा ओभरमा १४५ रनमै समेटिएपछि प्रदेश १ को ६८ रनको जित निश्चित भयो । प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्बाधिक ४४ रन बनाए पनि अन्यले गतिलो रन बनाउन सकेनन् । उसले २८ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ १ नम्बर प्रदेशका पुष्प थापा र मिनास थापाले ३–३ विकेट लिए । कप्तानसमेत रहेका पुष्प थापा खेलको म्यान अफ द म्याच चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...