आर्मी बन्यो कर्णाली प्रिमियर लिग च्याम्पियन

सुर्खेत (खेलदैनिक) । कर्णाली प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित्न सफल भएको छ । शनिबार सम्पन्न फाइनलमा आर्मीले रुपन्देही–११ लाई ३७ रनले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

सुर्खेत रंगशालामा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि ओपनर सागर पुनले सर्वाधिक ३८ रन बनाए भने बिनोद भण्डारीले २८ रनको योगदान दिए । त्यस्तै राजेश पुलामीले पनि २२ रनको महत्वपूर्ण योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको रुपन्देही भने १७.५ ओभर खेल्दै ९५ रनमा अलआउट हुन पुगेको थियो । रुपन्देहीका लागि निश्चल चौधरीले सर्वाधिक २६ रन बनाए भने ओपनर सन्दिप सुनारले २४ रनको योगदान दिए । रुपन्देहीका सात ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् ।

बलिङतर्फ आर्मीका बिक्रम सोवले सर्वाधिक ३ विकेट लिए भने हरिकृष्ण झा र सुशन भारीले २–२ विकेट लिए । त्यस्तै चन्द्र सावद र जितेन्द्र मुखियाले १–१ विकेट लिए । विजेता बनेको आर्मीले उपाधिसहित ३ लाख हात पारेको छ भने उपविजेता रुपन्देहीले १ लाख ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी रुपन्देहीका सन्दिप सुनार घोषित भए । उनले पुरस्कार स्वरुप नगद २५ हजार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...