डिफेन्डिङ्ग च्याम्पियन टिम चोराहलाई डीपीएल उपाधि

धनगढी (खेलदैनिक) । डिफेन्डिङ्ग च्याम्पियन धनगढी टिम चौराहले धनगडी प्रिमियर लिग (डीपीएल–२) को उपाधि रक्षा गर्न सफल भएको छ । फाइनलमा टिम चौराहले काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको हो ।

टस जित्दै पहिले ब्याटिङ्ग रोजेको टिम चौराहले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो । टिम चौराहका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ७८ रन बनाए भने रोहन मुस्तफाले ६० रनको योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा १६० रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर अमित श्रेष्ठले सर्वाधिक ५८ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३० रनको योगदान दिए । बलिङ्गतर्फ धनगढीका ललित भण्डारीले ३ विकेट लिए भने रोहन मुस्तफाले २ विकेट हात पारे । खेलमा अलराउण्ड प्रदर्शन गरेका मुस्तफा म्यान अफ द म्याच समेत घोषित भए ।

उपाधिसहित टिम चौराहले नगद २५ लाख हात पार्यो भने काठमाडौंले १० लाखमा चित्त बुझाउन पर्यो । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी टिम चौराहका रोहन मुस्तफा घोषित भए । उनले पुरस्कार स्वरुप एक थान मोटरसाईकल हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...