टिम चौराहको जितमा सोमपालको आक्रमक पारी

म्यान अफ द म्याच घोषित टिम चौराहका सोमपाल कामी ट्रफीका साथ । (तस्विर विकेटनेपाल)

धनगढी (खेलदैनिक) । तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले आक्रमक रुपमा नटआउट ३९ रनको पारी खेलेपछि साविक विजेता धनगढी टिम चौराहले डीपीएल–२ मा पहिलो जित दर्ता गरेको छ । सोमपालले ३ चौका र ३ छक्काको सहयोगमा नटआउट आक्रमक ३९ रन बनाएपछि टिम चौराहले सिवाइसी अत्तरियालाई ३ विकेटले हरायो ।

सोमबार टस जित्दै पहिले फिल्डिङ्ग रोजेको टिम चौराहले अत्तरियालाई १५० रन मात्र बनाउन दियो । अत्तरियाका लागि विपिन चन्द्र र प्रेम तामाङले समान २८–२८ रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले २५ रन बनाए । बलिङ्गतर्फ टिम चौराहका लागि ललित भण्डारीले ३ विकेट लिए भने रोहन मुस्तफाले २ विकेट हात पारे । त्यस्तै सोमपाल कामी र सम्सद शेखले १–१ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको टिम चौराहले भने अन्तिम ओभरमा चार बल बाँकी छँदै ७ विकेटको क्षतिमा १५१ रन बनाएर जित हासिल गरेको थियो । टिम चौराहका लागि सोमपाल बाहेक रोहन मुस्तफाले ४० रनको महत्वपूर्ण योगदान दिएका थिए । खेलमा निर्णायक पारी खेलेका टिम चौराहका सोमपाल म्यान अफ द म्याच समेत घोषित भए ।

सोमबारको नतिजासँगै २ खेलबाट २ अंक जोडेको टिम चौराह चौथो स्थानमा छ भने पराजयका बावजुद अत्तरिया भने उत्कृष्ट नेट रनरेटका आधारमा शिर्ष स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...