नेपाल विश्वकप छनौटतर्फ नेदरल्याण्डसँग पराजित

नेदरल्याण्डविरुद्ध भिड्नु अघि नेपाली खेलाडीहरु । (तस्विरी क्रिकइन्फो)

काठमाडौं (खेलदैनिक) । जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनौटतर्फ सुपरसिक्समा पुग्न नसकेको नेपालले सातौं स्थानका लागि भएको खेलमा शनिबार नेदरल्याण्डसँग ४५ रनको पराजय बेहोरेको छ । यो हारसँगै नेपालले आठौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।

यसअघि सम्पन्न प्लेअफतर्फको पहिलो खेलमा पपुवा न्युगिनीमाथि ६ विकेटको जित हासिल गर्दै पहिलोपटक अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको मान्यता पाएको नेपालले सोही प्रदर्शनलाई शनिबार दोहोर्याउन सकेन । शनिबार क्वेक्वे स्पोर्टस् ग्राउण्डमा टस जित्दै पहिले ब्याटिङ रोजेको नेदरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

नेदरल्याण्डका लागि बास डे लिडेले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए भने ललित राजवंशी र सन्दिप लामिछानेले २–२ विकेट हात पारे । त्यस्तै शक्ति गौचनले एक विकेट लिए ।

उता मध्य लक्ष्य पछ्याएको नेपाल भने कमजोर ब्याटिङ प्रदर्शन गर्दै ४४.४ ओभर खेल्दै १४४ रनमै अलआउट हुन पुग्यो । नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका सोमपाल कार्मीले सर्वाधिक ३६ रन बनाए । त्यस्तै दिपैन्द्र सिंह ऐरीले २५ रन बनाए भने कप्तान पारस खड्काले २२ रनको योगदान दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...