विश्वकप छनौटमा नेपालको लगातार तेस्रो हार

काठमाडौं (खेलदैनिक) । जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनौट क्रिकेटमा नेपाली क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ । समूह बी मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटको पराजय बेहोरेको हो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले ४९.४ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १९४ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रनको योगदान दिए । त्यस्तै ओपनर ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान २३–२३ रनको योगदान दिए ।

बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबी एक्लैले ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यस्तै रशिद खानले ३ विकेट लिए भने शपुर जदरनले २ विकेट हात पारे ।

उता जवाफी लक्ष्य पछ्याएको अफगानिस्तानले ३८.४ ओभर खेल्दै ४ विकेटको क्षतिमा १९५ रन बनाएर जित हासिल गर्यो । अफगानिस्तानका लागि नजिबुल्ला जदरनले नटआउट ५२ रनको योगदान दिए । त्यस्तै रहमद शाहले ४६ रन बनाए भने मोहम्मद नावीले ३४ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि दिपेन्द्र ऐरीले २ विकेट लिए भने करन केसी र सन्दिप लामिछानेले १–१ विकेट हात पारे । यो हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । समान ३ खेलबाट ६–६ अंक जोडेको जिम्बाब्वे र स्कटल्याण्ड राम्रो नेट रनरेटका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

त्यस्तै २–२ अंक जोडेका अफगानिस्तान र हङकङ तेस्रो र चौथो स्थानमा छन् भने अंकविहीन नेपाल पुछारमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल सोमबार हङकङसँग खेल्नेछ ।

(तस्विर रमन शिवाकोटी)


प्रतिक्रिया दिनुहोस

Loading...