विश्वकप छनौटको पहिलो खेलमा नेपाल पराजित

(तस्विर आइसीसी)

काठमाडौं (खेलदैनिक) । आईसीसी एकदिवसीय विश्वकप छनौट अन्तरगत आइतबार नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग ११६ रनले पराजित हुन पुगेको छ । आइतबार बुलावायोस्थित क्वीन्स स्पोर्टस् क्लबमा टस जित्दै पहिले ब्याटिङ रोजेको जिम्बाब्वेले ६ विकेटको क्षतिमा ३८० रनको बिशाल योगफल तयार पारेको थियो ।

जिम्बाब्वेका लागि सिकन्दर रजा र ब्रेण्डन टेलरले शतकीय पारी खेले । रजाले १२३ रन बनाए भने टेलरले १०० रनको योगदान दिए । रजा खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यस्तै सोलोमन मिरले पनि ५२ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दिप लामिछाने र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले भने निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन मात्र बनाउन सक्यो । शरद भेषवाकरले सर्वाधिक ५२ रन बनाए भने आरिफ शेखले ५० रनको योगदान दिए । त्यस्तै कप्तान पारस खड्काले पनि ४० रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्लले ३२ तथा रोहित कुमार पौडेलले ३० रनको योगदान दिए ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आउँदो बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । आइतबार नै सम्पन्न समूह बी तर्फको अर्को खेलमा स्कटल्याण्डले अफगानिस्तानलाई ७ विकेटले हरायो ।


प्रतिक्रिया दिनुहोस

Loading...