पारसको शतकले पनि जोगिएन नेपालको हार, युएई बन्यो डिभिजन टु च्याम्पियन

म्यान अफ द सिरिज अवार्ड ग्रहण गर्दै सन्दिप लामिछाने ।

काठमाडौं (खेलदैनिक) । नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को फाइनल भिडन्तमा नेपालले युएईसँग ७ रनको झिनो हार बेहोरेको छ । यो पराजयसँगै नेपाल दोस्रो स्थानमा रहँदै उपविजेता बनेको छ भने युएई बिजेता बनेको छ ।

टस जित्दै पहिले ब्याटिङ रोजेको युएईले ओपनर अशफाक अहमदको ११४ रनको शतकीय पारीको सहयोगमा ४ विकेट गुमाएर २७७ रन बनाएको थियो । त्यस्तै अर्को ओपनर तथा कप्तान रोहन मुस्तफाले पनि ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै शाईमन अनवरले ४० रन बनाए ।

डिभिजन टु च्याम्पियन युएईका खेलाडीहरु ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले भने निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले ११२ रनको शानदार नटआउट शतकीय पारी खेले तापनि नेपाललाई हारबाट जोगाउन सकेनन् । त्यस्तै दिपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले पनि क्रमश ३५ र ३० रनको योगदान दिए ।

बिहीबारको खेलमा युएईका असफाक अहमद म्यान अफ द म्याच घोषित भए । त्यस्तै प्रतियोगिताभरि कुल १७ विकेट लिएका नेपालका सन्दिप लामिछाने प्लेयर अफ द सिरिज घोषित भए । त्यसैगरी प्रतियोगिताभरि कुल २४१ रन बनाए नेपालका कप्तान पारस खड्का सर्वाधिक रन बनाउने खेलाडी समेत बने ।

(तस्विर रमन शिवाकोटी)


प्रतिक्रिया दिनुहोस

Loading...