दोस्रो खेलमा ओमानसँग नेपाल पराजित

ओमानविरुद्ध ब्याटिङ गर्न मैदानमा प्रवेश गर्ने क्रममा नेपाली खेलाडी । (तस्विर रमन शिवाकोटी)

काठमाडौं (खेलदैनिक) । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को दोस्रो खेलमा नेपालले ओमानसँग ६ विकेटको हार बेहोरेको छ । नेपालको परम्परागत कमजोरी ब्याटिङ चल्न नसक्दा नेपालले शुक्रबार दोस्रो खेलमा हार बेहोर्न पुगेको हो ।

टस हार्दै पहिले ब्याटिङका लागि उत्रिएको नेपाल ४६ ओभर खेल्दै १३८ रनमा अलआउट हुन पुगेको थियो । फितलो ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि शरद भेषवाकरले सर्वाधिक २२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २० रनको योगदान दिए ।

बलिङतर्फ ओमानका लागि कलिमुल्लाहले ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यस्तै बिलाल खानले २ विकेट हात पारे । त्यस्तै जवाफी ब्याटिङका लागि उत्रिएको ओमानले निर्धारित लक्ष्य ३५.१ ओभरमा ४ विकेट गुमाउँदै १३९ रन बनाएर भेट्टाएको थियो ।

ओमानका लागि अकिब इलयासले सर्वाधिक ४६ रनको योगदान दिए भने वैभव वाटेगाँवकरले ३७ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी र बसन्त रेग्मीले १–१ विकेट हात पारे ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो तेस्रो खेल आइतबार युएईसँग खेल्नेछ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...