डीपीएलको ट्यालेन्ट हन्ट सम्पन्न, नतिजा मंगलबार आउने

धनगढी (खेलदैनिक) । धनगढी प्रिमियर लिग (डीपीएल)को ट्यालेन्ट हन्ट सोमबार धनगढीमा एक र्काक्रमका बीच सम्पन्न भएको छ । ट्यालेन्ट हन्टबाट छनोटमा परेका ६ जना खेलाडीले आगामी चैत्र १७ गतेबाट सुरु हुने डीपिएल खेल्न पाउनेछन् ।

सुदूरपश्चिमका खेलाडीहरुलाई प्रत्येक टिममा स्थान दिने उद्देश्यले आयोजित ट्यालेन्ट हन्टमा एक सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

ट्यालेन्ट हन्टबाट १२ जना खेलाडीलाई छनोट गर्ने र तिनलाई डीपीएलको अक्सनको ‘डी’ समूहमा राखिनेछ । जसबाट प्रत्येक टिमले न्युनतम २५ हजार देखि अधिकतम ४० हजारसम्म भाउ लगाउँदै एक खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने प्रावधान आयोजकले गरेको छ ।

राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मुल्यांकन गरेका थिए । मुल्यांकन सोमबार साझमात्रै सम्पन्न हुने र मंगलबार छनोटमा परेका खेलाडीको नाम सार्वजनिक गरिने शाहीले बताए ।

डीपिएलमा देशका विभिन्न ६ शहरहरुले प्रतिस्पर्धा गर्दैछन्। प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनैतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...