पहिलो अभ्यास खेलमा नेपाली क्रिकेट टोलीलाई सफलता

काठमाडौं (खेलदैनिक) । कप्तान पारस खड्का एक्लैले पाँच विकेट लिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा युएई ए लाई २५ रनले हराएको छ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीका लागि युएईमा रहेको नेपालले आफ्नो पहिलो अभ्यास खेलमा रोमाञ्चक जित हात पारेको हो ।

यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले ओपनर दिलिपनाथको ६१ रनको सहयोगमा सबै विकेट गुमाएर २४६ रनको योगफल तयार पारेको थियो । त्यस्तै रोहित पौडेलले पनि ४३ रनको योगदान दिए भने करन केसीले ३५ रन बनाए ।

उता जवाफी ब्याटिङमा उत्रिएको युएईको ए टोली भने २२१ रनमा अलआउट हुन पुग्यो । युएईका लागि निल लोबोले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै ओपनरद्वय चिराग सुरी र फहद नवाजले क्रमश ४५ र ३६ रनको योगदान दिए ।

युएईको ब्याटिङ लाईन ध्वस्त पार्ने क्रममा नेपालका कप्तान पारसले ५ विकेट लिए भने दिपेन्द्र सिंह ऐरनीले ३ विकेट लिए । त्यस्तै ललित भण्डारी र करन केसीले एक–एक विकेट हात पारे । तीन अभ्यास खेलका लागि युएईमा रहेको नेपालले थप दुई अभ्यास खेल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...