म्याक्सवेल, गम्भिर जस्ता स्टार खेलाडीसँगै खेल्नेछन् सन्दिप

काठमाडौं (खेलदैनिक) । विश्वचर्चित इण्डियन प्रिमियर लिग (आईपिएल) को ११ औं संस्करणमा दिल्ली डेयरडेभिल्सबाट खेल्ने पक्का भएपछि सन्दिपको चर्चा अहिले चुलिएको छ । बीस लाख भारतीय रुपैयामा दिल्लीले किनेका १७ बर्षिय सन्दिप थुप्रै स्टार क्रिकेटरहरुसँगै खेल्नेछन् । त्यसमध्ये भारतका पूर्व कप्तान तथा चर्चित ब्याट्सम्यान गौतम गम्भिर पनि छन् ।

यसका अलावा विश्वचर्चित ब्याट्सम्यान ग्लेन म्याक्सवेल, बलर क्रिस मोरिस, अमित मिश्रा, जेसन रोय जस्ता स्टार क्रिकेटरहरुसँगै सन्दिपले पनि आइपिएलमा दिल्लीबाट आफ्ना प्रदर्शनलाई विश्व क्रिकेट सामू पुराउने अवसर पाउने छन् ।

सन्दिपले सन् २०१६ को यु–१९ क्रिकेट विश्वकपमा आफ्नो जादु देखाईसकेका छन् । उनले विश्वकपमा आयरल्याण्डविरुद्ध एक्लैले पाँच विकेट लिएर नेपाली टोलीलाई जित समेत दिलाएका थिए । त्यतिबेला उनले ह्याट्रिक समेत पूरा गरेका थिए ।

उनको प्रदर्शनबाट प्रभावित अष्ट्रेलियाका पूर्वकप्तान तथा चर्चित ब्याट्सम्यान माइकल क्लार्कले उनलाई सिड्नी स्थानीय क्लबबाट खेल्न निम्तो समेत दिएका थिए । त्यहाँ उनले क्रिकेटको थप प्रशिक्षण समेत लिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...