नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक

लाहोर । सोमबारदेखि पाकिस्तान र युएईको दुबईमा संयुक्त रुपमा आयोजना हुन गईरहेको पाँचौँ नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी शनिबार लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा सार्वजनिक रिएको छ ।

नेपालका कप्तान क्रितन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष सुल्तान साह लगायतले विश्वकपको ट्रफी सार्वजनिक गरेका थिए ।

प्रतियोगिताको शुरुवातमा भारतले पनि पाकिस्तानमा खेल्ने निर्णय भए तापनि भारतको विदेश मन्त्रालयले पाकिस्तानमा खेल्न अनुमति नदिएपछि भारतले दुबईमा खेल्ने भएको हो । त्यसैले विश्वकप ट्रफी ३ राष्ट्रका कप्तानले मात्र सार्वजनिक गरेका थिए । यससँगै दुबईमा अस्ट्रेलिया, भारत र श्रीलंकाले विश्वकप खेल्नेछ ।

सो अवसरमा नेपालका कप्तान कृतनले आफ्नो टिमले निकै संंघर्ष गरेर विश्वकप यात्रा तय गरेको स्मण गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको बताए । उनले भने ‘हामीले सीमित श्रोत साधनका बावजुत राम्रो तयारी गरेका छौँ । आशा छ, त्यही अनुरुप नतिजा पनि लोभ लाग्दो नै रहनेछ ।’

नेपालका प्रशिक्षक रिजन प्रजुले भने ‘हामी जित्नकै लागि आएका हौँ । हामीले करिब ४ दिनसम्म बसको यात्रा गरेर आएका छौँ । शारिरिक रुपमा हामी निकै थकित भएका छौँ । यद्यपि, जित निकाल्न हामी संघर्षरत छौँ । ४० ओभरको खेल छ, हामीले सम्हालिएर खेल्यौँ भने जित निकाल्ने छौँ ।’

भारतको पाकिस्तान भ्रमण अन्तिम समयमा परिवर्तन भएपछि विश्वकपको खेल तालिका पनि परिवर्तन भएको छ । यसअघि तय भएअनुसार नेपालले पहिलो खेल बंगलादेशसँग ८ जनवरीमा लाहोरमा खेल्ने थियो । तर, तालिका परिवर्तन भएपछि अब नेपालले पहिलो खेल ९ जनवरीमा आयोजक राष्ट्र पाकिस्तानसँग जिन्नाह स्टेडियम गुज्रानवालामा खेल्ने भएको छ ।

दोस्रो खेल १० जनवरीमा बंगलादेशसँग इकबाल स्टेडियमा खेल्नेछ । ११ जनवरीमा भने नेपाल दुबई प्रस्थान गर्नेछ । १३ जनवरीमा दुबईको अजमान ओभल क्रिकेटमा ग्राउन्डमा तेस्रो खेल श्रीलंकासँग खेल्नेछ । १४ जनवरीमा नेपालले अजमानकै इडन गार्डेनमा डिफेन्डिङ च्याम्पियन भारतसँग खेल्नेछ ।

लिगको अन्तिम खेल नेपालले १५ जनवरीमा अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा बलियो टोली अस्ट्रेलियाविरुद्ध आफ्नो चुनौती प्रस्तुत गर्नेछ । ट्रफी सार्वजनिक कार्यक्रममा पाकिस्तानका कप्तान निसारले देशले निकै संघर्षका साथ विश्वकप आयोजना गरेकोमा प्रशंसा गर्दै भने ‘हामीले राम्रो तयारी गरेका छौँ । त्यसैले उपाधि देशमा सुरक्षित हुनेछ ।’

बंगलादेशका कप्तान रहमानले विश्वकपको राम्रो तयारीका लागि पाकिस्तानलाई धन्यवाद दिँदै भने ‘ हामीसँग करिब ६ जना खेलाडी नयाँ छन्, जुन निकै प्रतिभाशाली छ । आशा गर्छौँ, पक्कै पनि बंगलादेशको यस विश्वकपमार्पmत उदय हुनेछ ।’ त्यस्तै विश्वकपको फाइनल हुने स्थान यसअघि पाकिस्तान भएपनि परिमार्जन भएको छ ।

भारतबाहेकको एसिया राष्ट्र विश्वकपको फाइनलमा पुगेमा फाइनल खेल पाकिस्तानमा हुनेछ । तर, अस्ट्रेलिया अथवा भारत पुगेमा फाइनल खेल दुबईमा हुनेछ । फाइनल खेल १८ जनवरीमा दुबई अथवा पाकिस्तानको लाहोरमा हुनेछ ।

(स्रोत नेपाल खेलकुद पत्रकार मञ्च)


प्रतिक्रिया दिनुहोस

Loading...