विश्वकप खेल्ने नेपाली नेत्रहिन क्रिकेट टोलीलाई सहयोगको ओइरो

पाकिस्तान प्रस्थान गर्नुअघि नेपाली दृष्टिविहीन क्रिकेट टोली सामूहिक तस्विर खिचाउँदै । (तस्विर हिमालयन टाइम्स)

काठमाडौं (खेलदैनिक) । पाकिस्तान र युएईले संयुक्त रुपमा आयोजना गर्न गईरहेको पाँचौं नेत्रहिन विश्वकप क्रिकेट प्रतियोगितामा पहिलोपटक सहभागी हुने लागेको नेपाली क्रिकेट टोलीलाई सहयोगको ओइरो लागेको छ ।

पाकिस्तानमा हुन गईरहेको नेत्रहीन विश्वकप क्रिकेटमा भाग लिन आर्थिक अभावकै कारण भारत हुँदै बसबाट पाकिस्तान हिँडेको नेपाली क्रिकेट टोलीलाई सहयोगको ओइरो लागेको छ ।

त्यसमध्ये नेत्रहिन टोलीलाई सहयोग गर्न नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् । नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले थालेको आर्थिक सहयोग संकलन अभियानमा पारसले सहयोग गर्ने घोषणा गरेका हुन् ।

कप्तान खड्काले आफ्नो फेसबुकबाट नेपालको लागि यो दुखद खबर भएको भन्दै सबैलाई सहयोग गर्न अपिल पनि गरेका छन् । त्यस्तै राष्ट्रिय खेलाडी अमृत भट्टराईले ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् भने पूर्व खेलाडी पारस लोनियाले पनि ५० हजार दिने घोषणा गरेका छन् ।

यता, नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासले ५ हजार नगद दिने घोषणा गरेका छन् । देशभरबाट विश्वकप खेल्ने नेपाली दृष्टिविहीन खेलाडीलाई सहयोगको ओइरो आउन थालेको छ । यु–१९ क्रिकेट टिमका मुख्य खेलाडी अनिलकुमार शाह र सोनु तामाङले ५ हजार नगद दिने घोषणा गरेका छन् ।

नेपाली नेत्रहिन क्रिकेट टिमलाई अन्य व्यक्ति, क्लब र संघसंस्थाहरुबाट पनि सहयोग आउने क्रम जारी छ । नेपाली क्रिकेट टिम भारतको गोरखपुर, अमृतसर हुँदै पाकिस्तान पुष १८ गते नै हिँडेको हो । तर गोरखपुरबाट रेल नपाएपछि दृष्टिविहीन नेपाली क्रिकेट टिम बसमा पाकिस्तान जाँदैछ ।

नेपाली क्रिकेट समर्थक समाजले ग्लोबल आइएमई बैंकमा खाता खोली आर्थिक सहयोगको अपिल गरेको छ । ग्लोबल आईएमई बैंकमा रहेको ०८०१०१०००१५८७ नम्बरको खातामा सहयोग गर्न सकिनेछ ।

नेपाली क्रिकेट समर्थक समाजले यो आर्थिक सहयोग संकलन अभियानबाट उठेको रकमले विश्वकपमा सहभागिता जनाई स्वदेश फिर्ता हुँदा हवाई यात्राको लागि भएको बताएको छ ।

यहि जनवरी ७ देखि २१ सम्म पाकिस्तान र युएईको संयुक्त आयोजनामा हुन गईरहेको दृष्टिविहीन एक दिवसीय विश्वकप क्रिकेटमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ । विश्वकपमा साबिकको बिजेता भारत, उपविजेता पाकिस्तान, नेपाल, श्रीलंका, अष्ट्रेलिया र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।

राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले जनवरी ८ तारीखमा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै नेपालले जनवरी ९ तारीखका दिन साविक विजेता भारतविरुद्ध खेल्नेछ । त्यस्तै नेपालले १० जनवरीमा घरेलु टोली पाकिस्तानविरुद्ध खेल्नेछ भने १३ जनवरीमा अस्ट्रेलियाको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...