डिएभी र सैनिक उपाधिनजिक

दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेटको दोश्रो सेमिफाइनलमा सेन्ट जेभियर्स विरुद्ध बलिङ गर्दै सैनिकका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । डिएभी र सैनिक आवसिय महाविद्यालय दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा डिएभीले साविक उपविजेता रोजबडलाई ७ विकेटले पराजित गर्यो । पहिले व्याटिङ गरेको रोजबडले निर्धारित १५ ओभरमा ३ विकेट क्षतिमा ९६ रन बनायो । रोजबडका शिभम झाले ३९, अदेश श्रेष्ठले १२ र अभिषेक यादवले ८ रन योगदान गरे । एक टिममा १० खेलाडी राख्ने प्रावधान छ ।

जवाफी व्याटिङमा डिएभीले निर्धारित १५ ओभरमा २ विकेट गुमाउदै ९७ रन जोड्यो । ‘म्यान अफ द म्याच’ रौनक गोयलले ४३, आशिष स्नानले १६ र इनाप महर्जनले ११ रन जोडे ।

दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेटको दोश्रो सेमिफाइनलमा अर्धशतक बनाएका सेन्ट जेभियर्सका आदित सुवेदी सैनिक विरुद्ध व्याटिङ गर्दै ।

अर्को सेमिफाइनलमा सैनिकले सेन्ट जेभियर्सलाई ४ विकेटले हरायो । सुरुमा व्याटिङ गरेको सेन्ट जेभियर्सले १५ ओभरमा ८ विकेट गुमाउदै ७६ रनको योगफल खडा गर्यो । त्यसमा लनटेनिस खेलाडी समेत रहेका आदित सुवेदीले अर्धशतक पूरा गरे भने श्रोभोक तुलाधरले ६ रन बटुले । ५० रन बनाएका आदित ‘म्यान अफ द म्याच’ चुनिए ।

सैनिकले १२ ओभर १ बलमा ५ विकेट क्षतिमा लक्ष्य भेटाउने क्रममा ७७ रन बनायो । सैनिकका स्नोज केसीले २८ तथा जयफ मल्लले १० रन बनाए । बृहस्पति विद्यासदनको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल बुधबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...