एभरेष्ट प्रिमियर लिगले पायो आइसीसीको मान्यता

काठमाडौं (खेलदैनिक) । अन्ततः एभरेस्ट प्रिमियर लिग (इपिएल) ले अन्तर्राष्ट्रिय क्रिकेटको नियमनकारी संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को मान्यता प्राप्त गर्न सफल भएको छ ।

देशको क्रिकेट संघ निलम्बनमा रहेको अवस्थामा घरेलु क्रिकेट प्रतियोगिता आयोजना गर्न आइसिसीको मान्यता हुनु पर्ने नियम अनुरुप आइसिसीले इपिएललाई मान्यता प्रदान गरेको हो ।

यो मान्यतासँगै प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटरहरु पनि इपिएलमा सहभागी हुने बाटो खुलेको छ । यसबापत इपिएलले आइसीसीलाई २० हजार डलर समेत बुझाएको छ । यो मान्यता एक वर्षका लागि मात्र हुनेछ ।

यसअघि आइसीसीले इपिएल मान्यता प्राप्त प्रतियोगिता नभएकाले कुनै पनि खेलाडीलाई खेल्न अनुमति दिएको थिएन ।

आइसिसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो । आन्तरिक विवादका कारण क्यान निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...