क्रिकेटर तथा इपीएल टिम चितवन टाइगरका कप्तान पृथु पक्राउ

पृथु बास्कोटा ।

काठमाडौं । काठमाडौंमा आगामी पुस ५ गतेदेखि शुरु हुन गईरहेको एभरेष्ट प्रिमियर लिग (एपीएल) मा सहभागी टोली चितवन टाइगरका कप्तान पृथु बास्कोटासहित डेजा भु नाइट क्लबका सञ्चालहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डेजा भु क्लबका सञ्चालक मध्ये एक रहेका क्रिकेटर पृथुसहित जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र क्लबका रितेश माडवाडी छन् । उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

नेपाली साइट अनलाईनखबरका अनुसार पूर्व निर्धारित कार्यक्रम अनुसार चर्चित डिजे मार्समेलो क्लबमा उपस्थित नभएपछि गएराति डेजाभू क्लबमा तोडफोड समेत भएको थियो । तोडफोडबाट क्लबमा क्षति समेत पुगेको छ । यद्यपि उनीहरुले क्लबमा पुगेको क्षतिको बारेमा उजुरी गरेका छैनन् ।

मार्समेलोलाई ल्याउने भन्दै उनीहरुले ७ हजार जनालाई २५ सय र ३५ सयका दरले टिकट विक्री गरेका थिए । सञ्चालकहरु नै पक्राउ परिसकेपछि टिकट लिएका कोही व्यक्ति प्रहरी समक्ष आए टिकट बराबरको रकम फिर्ता गर्ने उनीहरुले बताएको स्रोतले जनाएको छ ।

उता, डीजे मार्समेलोले भने अस्वस्थ्य भएका कारण आफू नेपाल आउन नसकेको भन्दै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत माफी मागेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...