काठमाडौं (खेलदैनिक) । आउँदो पौष ३ देखि शुरु हुन गईरहेको एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करणको तयारी स्वरुप काठमाडौं किंग्स ११ ले ट्यालेण्ट हन्टको आयोजना गरेको छ ।
टिविएस ईपिएलमा सहभागी टोली मध्ये एक काठमाडौंले ट्यालेण्ट हन्टको आयोजना गरी २६ खेलाडीहरुलाई छनौट गरेको छ ।
मूलपानी क्रिकेट ग्राउण्डमा भएको उक्त इभेन्टमा १५० भन्दा बढी क्रिकेटरहरुले सहभागिता जनाएको आयोजक क्लबले जनाएको छ ।
इभेन्टमा सहभागी क्रिकेटरहरुलाई उनीहरुको शारीरिक, मानसिक, टेक्टिकल र प्राविधिक पक्षलाई हेरेर छनौट गरिएको क्लबका प्रशिक्षक मनोज कटुवालले बताएका छन् ।
खेलाडीबारे बोल्दै प्रशिक्षक कटुवालले भने “ट्यालेण्ट हन्टमा उल्लेख्य क्रिकेटरहरुको सहभागिता रहेको थियो । त्यसमध्येबाट हामीले २६ जनालाई छनौट गरेका छौं । सबै खेलाडीहरु उत्कृष्ट रहेकाले यी मध्येबाट पनि खेलाडी छनौट गर्न कठिन भईरहेको छ । इभेन्टमा सबैले आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरेका थिए । तर पनि हामी यी मध्येबाट टिमका लागि केही खेलाडी मात्र छनौट गर्नेछौं ।”
पौष पहिलो सातादेखि शुरु हुन गईरहेको टिविएस एभरेष्ट प्रिमियर लिगमा काठमाडौंसँगै चितवन टाइगर्स, पोखरा राइनो, ललितपुर पेट्रियट्स, भैरहवा ग्लेडिएटर र बिराटनगर वारियर्सले सहभागिता जनाउने छन् ।