
नेपाली यु–१९ क्रिकेट टोली । (तस्विर एसीसी)
काठमाडौं (खेलदैनिक) । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
मंगलबार बायुमास ओवलमा टस जित्दै पहिले फिल्डिङ्ग रोजेको नेपालले आयोजक मलेसियालाई ४५ रनमा अलआउट गरेको थियो ।
बर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा मलेसियाका लागि ओपनर सैयद अजिजले मात्र २० रनको योगदान दिए । त्यस्तै अर्का ओपनर तथा कप्तान विरनदिप सिंहले १० रन बनाए ।
नेपालको कसिलो बलिङ्ग सामू मलेसियाका ८ ब्याट्सम्यान दोहोरो अंक छुन नसकि आउट हुन पुगे । बलिङ्गतर्फ नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र शहाब आलमले २–२ विकेट हात पारे । त्यस्तै अनिल साहले १ विकेट लिए ।
उता जवाफी लक्ष्य पछ्याएको नेपालले मात्र ५.२ ओभर खेल्दै २ विकेटको क्षतिमा ४८ रन बनाएर जित सहज जित हासिल गर्न सफल भएको थियो ।
नेपालका लागि ओपनर अनिल साहले सर्वाधिक नटआउट २६ रन बनाए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले १२ रनको योगदान दिए ।
मंगलबारको नतिजासँगै समूह ए बाट नेपालले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
यद्यपि यसको निर्णय मंगलबार नै जारी भारत र बंगलादेशबीचको खेलपश्चात नै स्पष्ट हुनेछ ।