एसिया कपमा नेपालद्वारा साविक विजेता भारत पराजित

(तस्विर नेपाल खेलकुद पत्रकार मञ्च)

काठमाडौं (खेलदैनिक) । कप्तान दिपेन्द्र सिंह ऐरीले शानदार अलराउण्ड प्रदर्शन गरेपछि मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले डिफेन्डिङ्ग च्याम्पियन भारतलाई हराएको छ ।

आइतबार भएको समूह ए तफको खेलमा नेपालले डिफेन्डिङ्ग च्याम्पियन भारतलाई १९ रनले हराउँदै ऐतिहासिक जित दर्ता गर्न सफल भएको हो ।

बायुमास ओवलमा टस हार्दै पहिले ब्याटिङ्गको निम्तो पाएको नेपालले कप्तानी दिपेन्द्र सिंह ऐरीको ८८ रनको कप्तानी पारीमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । नेपालका लागि ओपनर जितेन्द्र सिंह ठकुरीले पनि ३६ रनको महत्वपूर्ण योगदान दिए ।

उता १८६ रनको लक्ष्य पछ्याएको भारत भने १६६ रनमा अलआउट हुन पुगेको थियो । भारतका लागि ओपनर तथा कप्तान हिमान्शु राणाले सर्वाधिक ४६ रन बनाए भने अर्का ओपनर मनजोत कलराले ३५ रनको योगदान दिए ।

बलिङ्गतर्फ नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका कप्तान दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिए । त्यस्तै पवन सर्राफ र शाहब आलमले २–२ विकेट लिए भने भने कमल सिंह र सन्दिप लामिछानेले १–१ विकेट हात पारे ।

जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना कायम राखेको छ । समूह चरण अन्तरगत नेपालले आफ्नो अन्तिम खेल मंगलबार आयोजक मलेसियासँग खेल्नेछ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...