“एसिया कपका लागि राम्रो तयार गरेका छौं” ऐरी

पत्रकार सम्मेलनमा बोल्दै नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी । (तस्विर नेपाल खेलकुद पत्रकार मञ्च)

काठमाडौं (खेलदैनिक) । नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले शुक्रबारदेखि मलेसियामा शुरु हुन गईरहेको एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि राम्रो तयारी गरेको बताएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान ऐरीले भने हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण श्रृखंला पनि प्रतिस्पर्धात्मक रह्यो । हामी आफ्नो यो उत्कृष्ट प्रदर्शनलाई पहिलो खेलमा पनि निरन्तरता दिनेछौं ।

त्यसैगरी बंगलादेशका कप्तान मोहम्मद सैफ हसनले पनि आफ्नो टोलीले राम्रो तयारी गरेको र प्रतियोगिता अन्तरगत शनिबार हुने समूह चरणको नेपालविरुद्धको पहिलो खेलमा पनि उत्कृष्ट नतिजा हात पार्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी घरेलु टोली मलेसियाका कप्तान विरनदिप सिंहले घरमै प्रतियोगितामा आयोजना हुनुलाई एउटा अवसरका रुपमा हेरेको बताए । उनले प्रतियोगितामा जित भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

त्यसैगरी प्रतियोगिताको दावेदार मानिएको साविक विजेता भारतका कप्तान हिमान्शु राणाले आफ्नो टोलीले प्रतियोगिताको सबै संस्करणको फाइनलमा अपराजित रहेको बताउँदै त्यसलाई यसपटक पनि निरन्रता दिने दावी गरे ।

शुक्रबारदेखि शुरु हुन गईरहेको प्रतियोगिताको समूह ए तर्फ आयोजक मलेसियासहित नेपाल, भारत र बंगलादेश छन् भने समूह बी तर्फ पाकिस्तान, अफगानिस्तान, श्रीलंका र युएई रहेका छन् ।

प्रतियोगिता अन्तरगत शुक्रबार ३ खेलहरु हुनेछन् । जसमध्ये मलेसियाले भारतको सामना गर्नेछ भने अफगानिस्तानले पाकिस्तानसँग भिड्नेछ । त्यस्तै श्रीलंकाले युएईको सामना गर्नेछ ।

नेपालले आफ्नो पहिलो खेल भने शनिबार बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...