बर्षा बाधक बनेपछि नेपाल डिभिजन दुईमा घटुवा

(तस्विर विकेटनेपाल)

काठमाडौं (खेलदैनिक) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्धको दोस्रो खेल वर्षाका कारण स्थगित भएपछि नेपाल र हङकङले १–१ अंक बाँडेका छन् ।

यो निर्णयसँगै नेपाल डिभिजन दुईमा घटुवा भएको छ भने विश्वकप छनौट खेल्ने नेपालको सपना तत्कालका लागि समाप्त भएको छ ।

डिभिजन टु मा घटुवा भए तापनि नेपालको विश्वकप छनौट सम्भावना समाप्त भने भएको छैन । आगामी वर्षको फेब्रुअरीमा नामिबियामा हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को शिर्ष दुई स्थानमा रहने टोलीले मार्चमा जिम्बाब्वेमा हुने विश्वकप छनौट खेल्न पाउने छन् ।

लिगतालिकामा नेपालले ११ खेलबाट ८ अंक जोडेको छ र छैठौं स्थानमा छ । लिग च्याम्पियनसिप अन्तरगत नेपालले अब युएईसँग मात्र खेल्न बाँकी छ । युएईविरुद्धको दुवै खेल जिते तापनि नेपाल विश्वकप छनौट खेल्न असमर्थ हुनेछ ।

लिग तालिकाको शिर्ष चारमा रहने टोलीले सन् २०१८ मा हुने आइसीसी विश्वकप छनौट खेलका लागि सोझै छनौट हुनेछन् । विश्वकप छनौट खेलका लागि नेदरल्याण्ड र पपुवा न्युगिनीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...