क्रिकेट विश्वकपको छनौट खेल्ने नेपालको सम्भावना कठिन

हङकङका खेलाडी नेपालविरुद्ध ब्याटिङ गर्दै । (तस्विर आइसीसी)

काठमाडौं (खेलदैनिक) । नेपाली ब्याट्सम्यानहरु टिकेर खेल्न नसक्दा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले हङकङविरुद्धको पहिलो खेलमा ८३ रनको पराजय बेहोरेको छ ।

शुक्रबार मोङ ककस्थित मिसन क्रिकेट ग्राउण्डमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले हङकङलाई १९४ रनमा अलआउट गरेको थियो । हङकङका लागि ओपनर जेमी अटकिन्सनले सर्वाधिक ७६ रन बनाए भनभे तनविर अफजलले ३८ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए भने करन केसी र बसन्त रेग्मीले दुई–दुई विकेट लिए । त्यस्तै सुशन भारीले एक विकेट आफ्नो नाममा लेखाए ।

नेपाली क्रिकेट टोलीलाई समर्थन गर्न खेल मैदानमा पुगेका नेपाली समर्थकहरु । (तस्विर आइसीसी)

उता १९५ रनको सामान्य लक्ष्य पछयाएको नेपाल भने ३४.५ ओभर खेल्दै १११ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि कप्तान पारस खड्काले २६ रन बनाए भने आरिफ शेखले २३ रनको योगदान दिए । त्यस्तै ओपनर ज्ञानेन्द्र मल्लले २१ रन बनाए ।

पराजयसँगै नेपालको क्रिकेट विश्वकपको छनौट खेल खेल्ने सम्भावना केही कठिन भएको छ । अब नेपालले हङकङविरुद्ध दोस्रो खेल आइतबार खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...