डीपीएलको दोस्रो संस्करण माघमा, विजेतालाई २५ लाख

आयोजक र प्रायोजकबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि । (तस्विर : विकेटनेपाल)

काठमाडौं (खेलदैनिक) । सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग (डिपीएल) को दोश्रो संस्करण आउँदो माघ ५ गते देखि सुरु हुने भएको छ ।

त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजन रुस्लान क्रिकेटले गर्ने भएको छ । प्रतियोगितामा यसपटक धनगढी प्रिमियर लिगको नामको अघि रुस्लान जोडिएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाही र जाउलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गत विजय डिस्टिलरीको रुस्लान क्रिकेटको तर्फबाट इण्डष्ट्रिका अध्यक्ष श्रीहर्ष शमसेर राणाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार रुस्लानले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ३५ लाख नगद प्रदान गर्नेछ भने ३५ लाख रुपैयाँ प्रतियोगिता प्रबद्र्धन तथा अन्य गतिविधिमा खर्च गर्नेछ । प्रतियोगिताको यस अघिको संस्करणलाई सगरमाथा सिमेन्टले मुख्य प्रायोजन गरेको थियो ।

प्रतियोगिताको दोश्रो संस्करणको बिजेताले उपाधिसहित नगद २५ लाख रुपियाँ प्राप्त गर्नेछ भने उपविजेताले रु. १० लाख प्राप्त गर्नेछ । त्यस्तै तेश्रो स्थान हात पार्ने टोलीले ३ लाख तथा चौथो हुने टिमले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । डिपीएलको पुरस्कार राशि नेपाली घरेलु क्रिकेटमै सर्बाधिक हो ।

पुरस्कार रकममा मात्रै ५० लाख खर्च हुने समेत आयोजकले जनाएको छ । यसअघि डिपीएलको गत संस्करणको बिजेताले उपाधिसहित १५ लाख रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगिताको म्यान अफ द सिरिजले अपाचे १८० सिसिको मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ ।

यसपटक प्रतियोगितामा आठ टोली रहने

त्यसैगरी प्रतियोगिताको पहिलो संस्करणमा ६ टिम रहे तापनि यसवर्षदेखि प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । पहिले खेलेका ६ टिमलाई प्राथमिकता दिंदै थपिने २ टिमको घोषणा मंसिरमा गरिनेछ ।

गत संस्करणमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, कंचनपुर आइकोनिक, काठमाडौँ गोल्डेन्स र बिराटनगर किंग्स सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...