ज्ञानेन्द्रको शतकीय पारीमा नेपालको दोस्रो जित

काठमाडौं (खेलदैनिक) । ओपनर ज्ञानेन्द्र मल्लले शानदार शतकीय पारी खेलेपछि नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ ।

लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले मिलापुर रिक्रियशन क्लबलाई ५२ रनले पराजित गर्दै सफल भयो ।
बिहीबार टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५१ रन बनाएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्ले सय रनको योगदान दिए भने अर्का ब्याट्सम्यान शरद भेषवाकरले ४८ रन बनाए । त्यस्तै अर्का ओपनर सागर पुनले २५ रनको योगदान दिए ।

उता जवाफी ब्याटिङका साथ मैदानमा ओर्लिएको मिलापुरले भने निर्धारित ५० ओभरमा १९९ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनरद्वय सुधन सन्जिव र आर विवेकले क्रमशः ३७ र ३८ रनको योगदान दिए । त्यस्तै मोहम्मद आसिफले ३३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सुशन भारी र सागर पुनले २–२ विकेट लिए भने सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट हात पारे ।

यसअघि नेपालले आफ्नो पहिलो अभ्यास खेलमा डिन्डीगुल ड्रयागन्सलाई १५३ रनको भारी अन्तरले पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...