नेपालको यु–१९ विश्वकप खेल्ने सपना समाप्त

(तस्विर : रमन शिवाकोटी)

काठमाडौं (खेलदैनिक) । आइसीसी यु–१९ विश्वकप क्रिकेट छनौट प्रतियोगिताको अन्तिम खेलमा अफगानिस्तानसँग हार्दै नेपालको यात्रामा पूर्णविराम लागेको छ ।

समूह चरणको अन्तिम तथा निर्णायक मानिएको खेलमा अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेपछि नेपालको यु–१९ विश्वकपमा छनोट हुने न्यून सम्भावना पनि समाप्त भएको छ ।

उता जितसँगै अफगानिस्तान भने अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू–१९ विश्वकपमा स्थान बनाउन सफल भएको छ ।
मंगलबार पहिले ब्याटिङ गर्दै अफगानिस्तानले दिएको १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४० दशमलव ६ ओभर खेल्दै ९९ रन मै अलआउट हुन पुगेको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले मात्र सर्बाधिक ४८ रनको योगदान दिए । दिपेन्द्रले पवन सर्राफसँग मिलेर छैटौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरे तापनि नेपाली टोलीलाई जित दिलाउन सकेनन् ।

बलिङतर्फ अफगानिस्तानका युसुफ जाजीले ४ तथा मुजिव रहमानले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जदरानको १ सय १ रनको शतकीय पारीको सहयोगमा १ सय ९५ रन बनाएको थियो ।

बलिङतर्फ नेपालका लागि साहब आलमले ४ विकेट लिएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए । त्यस्तै कप्तान सन्दिप लामिछाने र रोहित कुमार पौडेलले १–१ विकेट आफ्नो नाममा लेखाएका थिए ।

यु–१९ विश्वकपमा छनौट हुनका लागि मंगलबार झिनो सम्भावना बोकेको नेपालले अफगानिस्तानविरुद्ध फराकिलो अन्तरले जित हात पार्नुपर्ने थियो । तर नेपाली ब्याटिङ लाईन फेरि पनि फ्लप भईदिंदा नेपालको युथ विश्वकप खेल्ने यात्रामा पूर्णविराम लागेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...