नेपालद्वारा मलेशिया पाँच विकेटले पराजित

काठमाडौं (खेलदैनिक) । आइसीसी यु–१९ विश्वकप क्रिकेट छनौट अन्तरगत नेपालले चौथो जित हात पारेको छ ।

सोमबार भएको खेलमा नेपालले मलेशियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा चौथो जित हात पारेको हो ।
इण्डियन एशोसिएसन ग्राउण्डमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले मलेशियालाई ८९ रनमै अलआउट गरेको थियो ।

नेपालका लागि कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै एक्लैले ७ विकेट लिए । त्यस्तै शाहब आलमले २ विकेट लिए भने रिजन ढकालले १ विकेट आफ्नो नाममा लेखाए ।

मलेशियाका लागि ओपनर शेद अजिजले मात्र सर्वाधिक ४६ रनको योगदान दिए भने अन्य कुनै ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । मलेशियाका ४ ब्याट्सम्यान त खाता नखोली शून्य रनमै आउट हुन पुगेका थिए ।

उता ९० रनको सहज लक्ष्यका साथ क्रिजमा उत्रिएको नेपालले २२ दशमलव २ ओभर खेल्दै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । ब्याटिङमा फेरि पनि कमजोर देखिएको नेपालका लागि रोहित कुमार पौडेलले मात्र ३४ रनको नटआउट पारी खेले । त्यस्तै दिपेन्द्र सिंह ऐरीले पनि १९ रनको अविजित पारी खेल्दै नेपाली टोलीको जित सुनिश्चित गरे ।

बलिङतर्फ मलेशियाका विरनदिप सिंहले ३ विकेट लिए भने हाफिजुद्दिनले २ विकेट आफ्नो नाममा लेखाए ।

जितका बावजुद अफगानिस्तानपछि दोस्रो स्थानमा रहेको नेपालको विश्वकपमा छनौट हुने सम्भावना केही कठिन छ । अब छनौट प्रतियोगिता अन्तरगत नेपालले आफ्नो अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...