सिंगापुरविरुद्ध नेपालको जित

(तस्विर : रमन शिवाकोटी)

काठमाडौं (खेलदैनिक) । सिंगापुरमा जारी आइसीसी यु–१९ क्रिकेट विश्वकप छनौट प्रतियोगिता अन्तरगत नेपालले तेस्रो जित हात पारेको छ ।
तेस्रो जित हात पार्ने क्रममा नेपालले आयोजक सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।

शुक्रबार टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले दिपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारीको सहयोगमा १ सय ६८ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दिपेन्द्रले ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै ओपनर सन्दिप सुनारले २६ रन बनाए भने प्रकाश केसीले २३ रनको योगदान दिए ।

बलिङतर्फ सिंगापुरका लागि बिक्रम विर विश्वर्यले ३ विकेट लिए भने आर्यमान सुनिल र आहान गोपिनाथ अचरले २–२ विकेट लिए । त्यस्तै अंश भर्गव र रोहन रंगराजनले १–१ विकेट आफ्नो नाममा लेखाए ।

त्यस्तै १ सय ६९ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली भने १ सय ४६ रनमा अलआउट हुन पुगेको थियो । सिंगापुरका लागि हंशुल दिपले सर्वाधिक ३२ रनको योगदान दिए । त्यस्तै सिद्धान्तले २५ रन बनाए भने ओपनर रोहन रंगराजनले २३ रनको योगदान दिए । यद्यपि टोलीको हार भने टार्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट लिए भने किशोर महतो र पवन सर्राफले २–२ विकेट हात पारे । त्यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट आफ्नो नाममा लेखाए ।

अफगानिस्तानको लगातार चौथो जित

शुक्रबार नै सम्पन्न अर्को खेलमा दावेदार मानिएको अफगानिस्तानले मलेशियालाई १० विकेटले पराजित गरेको छ ।

मलेशियाले दिएको ५८ रनको लक्ष्य अफगानिस्तानले ५ दशमलव ४ ओभर खेल्दै विना कुनै विकेटको क्षतिमा भेट्टाएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...