अफगानिस्तानसँग नेपालको फराकिलो हार

(तस्विर : रमन शिवाकोटी)

काठमाडौं (खेलदैनिक) । आगामी वर्ष न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेट छनौट अन्तरगत नेपालले फराकिलो हार बेहारेको छ ।

बिहीबार सम्पन्न खेलमा अफगानिस्तानसँग नेपाल १ सय ४१ रनको भारी अन्तरले पराजित भएको हो ।
नेपालको हारको कारण फेरि पनि परम्परागत कमजोर ब्याटिङ लाईन बन्यो ।

सिंगापुर क्रिकेट क्लब मैदानमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले अफगानिस्तानलाई १ सय ९० रनमा अलआउट गर्न सफल भएको थियो । अफगानिस्तानका लागि ओपनरद्वय इब्राहिम जदरन र नाविद आबेदले क्रमशः ४३ र ३३ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि शाहब आलमले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दिप लामिछाने र पवन सर्राफले २–२ विकेट हात पारे । त्यस्तै किशोर महतो र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी ब्याटिङका लागि मध्यम लक्ष्य पछ्याउँदै मैदानमा प्रवेश गरेको नेपाल भने २६ ओभरमा मात्र ४९ रन बनाउँदै अलआउट हुन पुगेको थियो । नेपालका लागि पवन सर्राफले मात्र सर्वाधिक २६ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बलिङतर्फ अफगानिस्तानका नविन उल हकले ह्याट्रिक सहित ४ विकेट लिए भने मुजिव जदरनले पनि ४ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै युसुफ जजई र जाकिर खानले १–१ विकेट लिए ।

डबल राउण्ड रोविन लिगका आधारमा खेलाइने छनौट प्रतियोगिताको शिर्ष स्थानमा रहने टोलीले आगामी वर्ष न्यूजिल्याण्डमा हुने आइसीसी अण्डर–१९ क्रिकेट विश्वकपमा छनौट हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...