सिंगापुरविरुद्ध नेपालको संघर्षपूर्ण जित

काठमाडौं (खेलदैनिक) । आइसीसी यु–१९ विश्वकप छनौट अन्तरगत नेपालले पहिलो खेलमा आयोजक सिंगापुरविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ ।

आइतबारदेखि शुरु प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गर्दै संघर्षपूर्ण जित हात पारेको हो ।

सिंगापुर क्रिकेट क्लबमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले घरेलु टोली सिंगापुरलाई ७३ रनमै अलआउट गरेको थियो । सिंगापुरका लागि ब्रिगु आयरले मात्र सर्वाधिक ४२ रनको योगदान दिए । अन्य ब्याट्सम्यानहरु भने नेपाली बलरसामू टिक्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । त्यस्तै शाहब आलमले ३ विकेट लिए भने किशोर महतोले २ विकेट लिए ।

उता ७४ रनको सहज लक्ष्यका साथ क्रिजमा प्रवेश गरेको नेपालको ब्याटिङ लाईन पनि कमजोर देखियो । नेपालले लक्ष्य १७ दशमलव ३ ओभर खेल्दै ६ विकेटको क्षतिमा भट्टाएको थियो । यद्यपि कुल २२ रन बनाउँदा ४ विकेट गुमाएको नेपालको इनिङ प्रनित थापा मगरले सम्हाल्ने काम गरे । प्रनितले सर्वाधिक २३ रन बनाए, त्यस्तै अनिल शाहले १९ रन बनाए भने रोहित कुमार पौडेल ११ रनमा नटआउट रहे ।

प्रतियोगितामा विजयी शुरुवात गरेको नेपालले जितसँगै २ अंक बटुलेको छ ।

आइतबार नै सम्पन्न अर्को खेलमा दावेदार मानिएको अफगानिस्तानले मलेशियालाई ८ विकेटले पराजित गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...