अभ्यास खेलमा नेपाली युवा क्रिकेट टिमको पहिलो हार

(तस्विर : क्रिकेटिङनेपाल)

काठमाडौं (खेलदैनिक) । आइसीसी यु–१९ क्रिकेट विश्वकप छनौटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा पराजय बेहोरेको छ ।

भारत भ्रमणमा रहेको नपाली युवा क्रिकेट टोलीले पाँचौं अभ्यास खेलमा स्थानीय क्रिकेट टोली नोयडा–११ सँग ६८ रनको हार बेहोरेको हो ।

दिल्लीको ग्रेटर नोयडामा टस हारेर पहिले ब्याटिङ रोजेको घरेलु टोली नोयडाले ८ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको थियो । नोयडाका लागि ओपनर तान्मे श्रीवास्तलले अविजित १ सय २० रनको शतकीय पारी खेले । अर्का ओपनर राहुल यादवले ३३ रन बनाए । बलिङतर्फ नेपालका किशोर महतो र पवन सर्राफले २–२ विकेट हात पारे ।

उता २ सय ३५ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङका लागि क्रिजमा उत्रिएको नेपाली टोली भने १ सय ६६ रनमै अलआउट हुन पुगेको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५५ रन बनाएपनि अन्य ब्याट्सम्यानहरुले गतिलो योगदान दिन सकेनन् । त्यस्तै ओपनर सन्दिप सुनारले ३६, प्रकाश केसीले ३१ रनको योगदान दिए ।

आइसीसी यु–१९ विश्वकप छनौट अन्तरगत नेपालले आयोजक सिंगापुरसहित मलेशिया र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । डबल राउण्ड रोविन लिगका आधारमा हुने छनौट खेलको शिर्ष स्थानमा रहने टोली आगामी वर्ष न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेटका लागि छनौट हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...