नेपाली यु–१९ क्रिकेट टोलीको फराकिलो जित

गुरुग्रामविरुद्ध ब्याटिङ गर्दै नेपाली यु–१९ टोलीका खेलाडी । (तस्विर : क्रिकेटिङनेपाल)

काठमाडौं (खेलदैनिक) । विश्वकपको तयारीमा रहेको नेपाल यु–१९ क्रिकेट टोलीले बुधबार दोस्रो अभ्यास खेलमा पनि फराकिलो जित हात पारेको छ ।

शानदार जित हात पार्ने क्रममा नेपाली यु–१९ टोलीले गुरुग्राम स्पोर्टस् क्लबलाई २ सय ४९ रनको भारी अन्तरले पराजित गरेको छ ।

बुधबार टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले ९ विकेटको क्षतिमा ३ सय ३८ रनको विशाल योगफल तयार पारेको थियो । नेपालका लागि आदिल खानले सर्वाधिक ७५ रन बनाए । त्यस्तै ओपनर सन्दिप सुनारले पनि ५८ रन बनाउँदै अर्धशतक पूरा गरे भने दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले क्रमशः ४८ र ४७ रनको योगदान दिए ।

बलिङतर्फ गुरुग्रामका मनिश राय, हिमांशु हरी, शिष्पाल सिंह र प्रताप सिंहले समान २–२ विकेट लिए भने मतविन्दर सिंहले १ विकेट आफ्नो नाममा लेखाए ।

उता ३ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको गुरुग्राम भने २९ दशमलव १ ओभर खेल्दै ८९ रनमै अलआउट हुन पुगेको थियो । गुरुग्रामका लागि प्रताप सिंहले सर्वाधिक २८ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यान नेपाली बलरसामू टिक्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि पवन सर्राफले ४ विकेट लिए भने रोहित कुमार पौडेल र बिक्रम कुमार भुसालले २–२ विकेट हात पारे । त्यस्तै साहब आलमले १ विकेट लिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...